सोपेन्हावरको दर्शन

By: Adesh Acharya

(यो लेख पढ्न बस्नु पहिले आफ्ना सारा चाहना, तृष्णा, अहं अरूलाई नै सूम्पेर आउनुहोला !)

पूर्वीय बौद्धिक एवं आध्यात्मिक संस्कृतिको लागि यदि कुनै पश्चिमी दार्शनीकले सबैभन्दा बढी महत्व राख्छन भने ती दार्शनीक आर्थर सोपेन्हावर हुन । उदाहरणको लागि नयाँ दिल्लीको अक्षरधाममा भारतीय संस्कृतिको प्रशंसाको लागि स्थापित एक स्थलमा ठूलो अक्षरले सोपेन्हावरले भारतीय दर्शन-चिन्तन-सभ्यता सम्बन्धी गरेका प्रशंसा लेखेर टाँसिएको छ । आफूलाई स्वाभलम्बी मान्ने भारतीय संस्कृति र कठोर परम्पराले त्यसरी उनको शब्दलाई राख्नाले धेरै कुरा बताउछ  ।

त्यसमाथि विभिन्न बौद्धिक बर्गलाई आकर्षित गर्नको लागि पनि उनी महत्वपूर्ण छन किनभने एक हिसाबले उनी पूर्वीय अध्यात्म, दर्शनका खूब चर्चा र सम्मान गर्ने र त्यसका दर्शनलाई पश्चिमी प्रकृया अन्तर्गत प्रमाणित गर्ने पश्चिमी दार्शनीक हुन र प्लेटो, एरिष्टोटल, डेकार्ट्स, लक, कान्ट, हयुम, रुसो, मार्क्स, नित्से सँगसगै पश्चिमी दर्शन र बौद्धिकताका सितारा, जसको बारेमा विस्तृत चर्चा गर्नेनै हाम्रो यो लेखको उद्धेश्य हो ।

उनको महत्वको बारे जे भनियो त्यसमा एकछिन डुब्ने हो भने के देखिन्छ भने उनले धेरै माथि प्रभाव पारे जसमध्य मनोविज्ञानमा फ्रायड, यङ, दर्शनमा नित्से, विट्गेन्सटाईन, सङ्गीतमा वाग्नर, साहित्यमा टोल्स्टई , स, महत्वपूर्ण हुन । तर उनीबाट प्रभावित भएका मध्य, आजको समयको लागि उनीहरू भन्दा पनि महत्वपूर्ण एउटा व्यक्ति छन : मानवताको विद्वत्ताको पर्यायवाची बन्न पुगेका व्यक्ति: आइन्सटाईन ।

आइन्सटाईनले धेरै ठाउँमा सोपेन्हावरको प्रशंसा गरेका छन र उनको जीवनमा सोपेन्हावरको असरको गुनगान गाएका छन । सोपेन्हावरको ‘म चाहेको  त गर्न सक्छु तर जे चाहन्छु त्यो चाहन सक्दिन’ भन्ने वाणीबाट निकै प्रेरित भएको  भन्छन आइन्स्टाइन आफू । यदि कसैले सोपेन्हावरको र आइन्सटाईनको कार्यलाई ध्यानले हेर्छ भने उसले सोपेन्हावरका काममा आइन्स्टाइनका विचार श्रोतलाई मजाले ठम्याउन सक्छ । हो, उनको साक्षेतावादका सिद्धान्तमा सोपेन्हावरसँगसँगै कान्टको निकै ठूलो प्रभाव छ। त्यो भन्दा बाहेक, आइन्सटाइनको व्यक्तित्वमा परेको सोपेन्हावरको असर हेरौँ – उदाहरणको लागि आइन्सटाईनको यो कुरा:

‘हामीले जुन सोच-प्रकृयाले कुनै समस्याको रचना गर्यौँ त्यही प्रकृयाबाट त्यसको समाधान पाउन सक्दैनौँ..’

ईन्टरनेटमा यसको श्रोत सम्बन्धीपनि निकै चर्चा चल्ने गर्छ । तर म यहाँ सोपेन्हावरले भनेका एक हरफ लेख्छु, तपाई आफैँ तुलना गर्नु:

‘.. यदि हामीले विचार (idea) लाई हाम्रो सुरुवाती विन्दु बनायौँ र त्यो मार्ग हिँड्यौँ भने जुन ती नियमले बाँधिएका छन जसले केवल विचार लाई वस्तुसँग जोडिदिन्छ, हामी हाम्रो लक्ष्य सम्म कहिले पुग्न सक्दैनौ’

अर्थात,

हामीले जुन नियमको प्रयोग गरेर कुनै कुराको रचना गर्यौँ त्यही नियमको पालना गर्नेले त्यो भन्दा बाहिर निस्किन सकिदैन ।  यो भनाईको खास अर्थ हामीले लेखक्रममा बुझिनैहाल्छौँ ।

यी भए सोपेन्हावरको दर्शनको साधारण प्रभावका कुरा । अब मूलभूत विषय प्रवेश गरौँ:

सोपेन्हावरको दर्शन बुझ्नका निम्ति बुझ्नु पर्ने सबभन्दा महत्वपूर्ण  पक्ष हो उनले प्रस्तुत गरेका पर्याप्त कारणको नियमको चार वटा श्रोत । जसअन्तर्गत उनी भन्छन कि पर्याप्त कारणको नियम भनेको सामुहिक शब्द हो जसप्रति हामी स्वत: उत्पन्न चेत छौँ (A-Priori Conscious) जस अन्तर्गत हामीले स्वत: उत्पन्न थाहा पाउने भनेको केही नभएर ती नियम र तिनका विषय हुन ।

जसअनुसार चार श्रोत हुन-

  • कार्यकारणसम्बन्ध : कारण छ भने कार्य हुन्छ नै
  • तार्किक नियम: यदि आधार (Premise) दिइयो भने, निष्कर्ष निस्कन्छ नै
  • देशकालको नियम
  • प्रेरणाको नियम – प्रेरणा भयो भने कार्य हुन्छ नै ।

यसबाट उनीके स्थापित गर्छन भने,

यो संसार भनेको मेरो विचार हो जहाँ यो सत्य पर्याप्त कारणको नियम भन्दा पनि सामान्य छ ।  यो सत्य अनुसार उनी भन्छन कि यो सारा संसार केवल वस्तु हो, संसारको क्षेत्रज्ञसँगको सम्बन्धमा । अर्थात, संसार केवल दृष्टाको दृष्टि हो ! उनको यो विचारले गौडपादाचार्य र शंकराचार्यको विचारसँग मेल खान्छन ।

उनको यो दर्शनको भौतिकतासँगको सम्बन्ध को बारेमा भने उनी भन्छन,

‘भौतिकतत्व भनेको बुद्धिले निर्माण गर्ने विचार हो र त्यो केवल विचारको रूपमा मात्र छ । भौतिकत्व र बुद्धी : यी दुई कुरा एक अर्कोको सम्बन्धमा मात्र छन त्यसैले सापेक्ष छन । यी दुई एकअर्कासँग जडिएका छन र अविद्याले यिनी बेग्लाबेग्लै देखिन्छन । कुनै आखाँले कहिले यी दुईलाई स्वतन्त्र देखेको छैन… यी दुई मिलेर संसारलाई हेर्छन तर विचारको रूपमा… !’

पर्याप्त कारणले कार्य गर्ने भनेको यो क्षेत्रमा मात्रै हो ।  अर्थात पर्याप्त कारणले गर्ने भनेको यो विचार यस्तो, त्यो त्यस्तो ।  यो त्यो नियमले बाँधिएको छ, त्यो त्यसले छ भन्ने मात्रै हो । पर्याप्त कारणले केवल विचारको दूनियालाई बुझाउँछ  ।

‘..पर्याप्त कारणको नियमानुरुप कुराहरू हेर्ने भनेको बुद्धिवादी (Rational) तरीका हो कुन व्यावहारिक जीवन र विज्ञानमा काम लाग्छ । यो पर्याप्त कारणको नियम पर गएर हेर्न सक्ने भनेक विद्वत्ता हो…पहिलो तरीको एरिस्टोटलको हो भने दोस्रो प्लेटोको.. ।’

अब, यो मोड देखि उनको दर्शनको विकास हुन थाल्छ र उनी त्यो सत्य-तथ्यको खोजीमा लाग्छन जुन विचार र पर्याप्त कारण भन्दा पर छ । उनी त्यो कुराको खोजी गर्न तिर लाग्छन जहाँ उनी सोध्छन,

‘यी विचारका महत्व के हुन? के संसार विचार बाहेक केहि होइन त ?’ 

यो अर्थमा उनी वेदिक दार्शनीक झैँ माया भित्रको यथार्थ केलाउन थाल्छन तर दार्शिनिक रूपले !

विचारको र विचारभित्रको यथार्थलाई उनी कान्टको भाषामा वस्तु निजरूप (Thing in Itself) भन्छन । अर्थात, जे देखिन्छ त्यसको सत्य होइन कि जे नियम छ त्यसको सत्य !  तर जहाँ कान्ट वस्तु निजरूपलाई अज्ञेय ठान्छन सोपेन्हावर त्यसलाई नाम दिन्छन:

यो संसार भनेको तृष्णा हो:

तृष्णा (Will) र भन्छन कि तृष्णा नै मूलभूत कारक हो संसारको र यो तृष्णानै सबैतिर छ । यहि जीवनको तृष्णाले नै जीवनको आधार बनाएको हुन्छ : Will to Exist

तृष्णाको यो निष्कर्ष र तृष्णाको विभिन्न रासलिला र खेल बुझ्ने प्रकृया भनेको ज्ञान हो भन्छन उनी र त्यो प्रकृया जान्न सकिने विधिहरू केलाउँछन ।

यसमा उनको विभिन्न विज्ञानको लेखाजोखा र समालोचन निकै नै उत्कृष्ट छ ।

तृष्णा बिर्सिएर शुद्ध चिन्तनमा रहेर दूनियालाई नियाल्ने विद्वान-पुरुषको कला नै सत्य देख्ने एक मात्र साधन हो भन्नु पुर्व उनी विभिन्न विज्ञानको बारेमा यो राय दिन्छन :

गणितगणितले विचारसम्बन्धी केवल देशकाल भित्रको मात्र कुरा गर्छ । त्यै पनि मात्राको मात्रै ! उत्कृष्टतामा यसले यो यति छ र यहाँ छ भनदेला तर यो सँधै सापेक्ष मात्रै हुन्छ अर्थात एउटा विचारको अर्कोसँग तुलना । त्यसैले गणितबाट यथार्थ जान्न मिल्दैन जुन यथार्थ देशकाल भन्दा पर छ ।

(यहाँ नेर म के भन्छु भने हामी विज्ञान अन्तर्गत जे मा पनि गणितिय आधार खोज्छौँ  । त्यस अन्तर्गत हामी सफल पनि भएका छौँ । सोपेन्हावरको समय पछि विज्ञानमा निकै उपलब्धीहरू भए खासगरी गणितीय विज्ञानमा । तर यदि संसारभित्रको नियम नभई संसार स्थापनाकै नियम खोज्छ भने गणित काम नलाग्न सक्छ । जसरी सोपेन्हावर भन्छन : गणितले विचारको मात्रा-यथार्थ भन्छ विचारपरको होइन ।)

प्राकृतिक विज्ञान (Natural Science) –  प्राकृतिक विज्ञान भनेको भौतिक संसारको अध्ययन गर्ने विज्ञान हो । यस अन्तर्गत मूलत: Physics, Chemistry, Geology इत्यादि पर्छन ।

सोपेन्हावर यसलाई दूई भागमा विभाजन गर्छन:

  • आकृति विज्ञान (Morphology) – नित्य रूपको अध्ययन (Botany, Geology , इत्यादि)
  • परिवर्तन विज्ञान (Aetiology) – अनित्य रूपको अध्ययन (Physics, Chemistry, Physiology)

उनको भनाई,

‘जे कुरा नित्य छ या त नित्य देखिन्छ त्यसको अध्ययन आकृति विज्ञान भयो र जुन परिवर्तनशील छ र जसले कारण-कार्यक अध्ययन गर्छ त्यो परिवर्तन विज्ञान । उनी परिवर्तन विज्ञानले आकृति विज्ञान भन्दा धेरै केही बताउन नसक्ने कुरा गर्छन किनभने अन्तत; दुईटैले सम्बन्ध बाहेक केहीदेखाउने होइन; विचार भित्रको सम्बन्ध: संसार भित्रका वस्तुको सम्बन्ध । भौतिकशास्त्रले प्रतीयमान संसारको (Phenomena) नियम बुझ्नमा केही उपलब्धी गरेपनि कारणकारणता भन्दा भित्र पसेको छैन । उसले त केवल जस्तो देखिन्छ, त्यसको नियम भेट्टाएको हो…परिवर्तन विज्ञानले पालना गर्ने नियम प्रतीयमान संसार र तिनका श्रेणीगत भागबण्डा भन्दा बाहेक जादैनन ।’

यही क्रममा उनी यी विज्ञानको कार्यशैलीको बारे एक उत्कृष्ट उदाहरण दिन्छन जहाँ उनी परिवर्तन विज्ञान र उसको विषयलाई एउटा व्यक्ति र एक हुल अन्य व्यक्तिसँग तुलना गर्छन :

‘एउटा व्यक्ति अचम्म सँग एक हुल मान्छेको बीचमा पुग्छ जहाँ कसरी पुगेँ भन्ने बारेमा उसलाई केही थाहा छैन । त्यहाँ हरेक हुलको व्यक्तिले अर्कोलाई आफ्नो मित्र भन्छ र हाम्रो व्यक्तिसँग परिचय गराइदिन्छ । केही बेर पछि ऊ सबैसँग परिचित त हुन्छ तर ऊ आफूलाई अझै सोध्छ: “म यहाँ आएँ चाहीँ कसरी?”’

उनी तसर्थ यसरी यी विज्ञान कहिले पनि विचार भन्दा पर जान नसक्ने बताउछन । यसमा माथि आइन्सटाइनको कुरासँग दिइएको उदाहरण काम लाग्छ जहाँ हरेक विज्ञान नियम त बताउँछ तर त्यसको, जुन एउटा क्षेत्र भित्र छ । त्यो भन्दा पर ऊ पुग्न सक्दैन ।

माथि उल्लेख गरिएअनुसार नै कलालाई उनी एक मात्र साधन ठान्छन तर त्यो ‘के?’ र ‘कसरी?’ भनेर जान्नु पहिले हामी यहाँनेर उनको विज्ञानप्रतिको धारणालाई उनी पछिको समय दौरान भएको प्रगतिसँग तुलना गरेर हेरौँ:

सोपेन्हावर पछि, ‘प्राकृतिक विज्ञानमा’ तहल्का नै मच्चियो । हुन त उनको जीवनक्रमै law of conservation of mass, डाल्टनको अणु सिद्धान्तको वैज्ञानिक आधार, फाराडेको इन्डक्सनको  नियम इत्यादि फेलापारिसकिएको थियो त्यै पनि खास अर्थमा आज हामीले विज्ञानका ताज भन्ने सिद्धान्तहरू उनी पछि फेला पारिएका हुन:

डार्विनको विकासक्रमको सिद्धान्त (डार्विनभन्दा  पहिले उनले यस सम्बन्धी कुरा गरिसकेका थिए जहाँ उनले जीवनलाई संघर्ष, क्रमिक विकासको श्रृङ्खला , र मान्छेलाई वानरबाट आएको भनेका थिए), पाश्चरको रोगाणु, सिद्धान्त, म्याक्सवेलको Theory of the Electromagnetic Field, इलेक्ट्रोन, आइन्स्टाइनको साक्षेताबाद, इत्यादि…तर बीसौँ शताब्दीमा पुगेपछि बल्ल सूक्ष्मतामा उत्कृष्ट उन्नति भनेको यी तीनवटा भए:

  • उप-परमाणविक तहमा क्वान्टम क्षेत्रमा , जैविक तहमा न्युरोन र डी.एन.एमा ।

तर यिनीहरू सोपेन्हावरको ‘विचार पारी’ र ‘वस्तु आफैँ भित्र’ सम्म पुग्न सकेनन । जस्तो, आफ्नो खोजीको वस्तुबारे उनी भन्छन:

…भौतिकतत्व र क्षेत्रज्ञमिलेर विचार बन्छ भने विचार भन्दा पर अभौतिक, आध्यात्मिक, ‘वस्तु आफै भित्र’ रहेको हुन्छ’

क्वान्टम विज्ञान भनेको कुनै पनि भौतिक वस्तुको सबभन्दा सूक्ष्म अंशको विज्ञान हो जहाँ त्यो सूक्ष्म पक्ष त्यस वस्तुको कृयामा परस्पर रहन्छ । अर्को भाषामा, कुनै पनि वस्तुको व्यवहारमा असर पार्ने सूक्ष्मताहरू भनेको क्वान्टा हुन । वैज्ञानिक प्ल्यांकको UV Catastrophe को र प्रकाशको Photoelectric effect (वेभले बनेको प्रकाशले कसरी बिद्युतीय असर गर्न सक्छ, विशेषगरी UV लाई भन्ने प्रश्न )  को समस्याको समाधान अनुरुप यसको जन्म भएको हो ।

प्ल्यांकको Black Body Radiation को समस्यामा उनले शक्ति स-साना टुक्रामा मात्र रहन या निस्कन सक्छन भनेका थिए जसको केही वर्षपछि आइन्स्टाइनले Photoelectric समस्याको समाधान अनुसार प्रकाशलाई वेभको रुपमा होइन, वस्तुगत कणको रूपमा हेर्यो भने तिनमा स-साना कण पाइन्छ: क्वान्टम भनेर सिद्ध गरेपछि क्वान्टमले औपचारिक रुपमा विज्ञानमा स्थान पाएको हो । त्यही क्वान्टमको अध्ययन दौरान बिसौँ शताब्दीको विज्ञान वेभको कणीय व्यवाहार र ईलेक्ट्रोनको रूपमा कणको वेभ व्यवाहार देखेर दङ्ग रह्यो र स्पष्टिकरण दिन खोज्यो । Double Slit Experiment ले दिएको यस्तो धक्का बुझ्न ऊ क्वान्टम तहमा ‘चाह’ सम्म पुग्यो । चाहको स्पष्टिकरण दौरान विचार-विभाजन भयो जहाँ निल्स बोहर पक्षले भन्यो कि, वस्तुको अवस्था सम्बन्धी मापन नगरेसम्म तिनको बारेमा केही थाह पाइन सकिदैन । अर्थात, क्वान्टम दूनियामा ठोस यथार्थ छैन, केवल हुन सक्ने सम्भावनाहरू मात्रै छन । त्यस्तै आइन्स्टाइन पक्षले मापन गर्दा जे हुन्छ त्यो पहिलेनै निर्धारण भइसकेको हुन्छ भन्यो । अर्थात, यथार्थ छ र थाहा पाइन सकिन्छ । तर क्वान्टम विज्ञानले आज सम्म ठोस उत्तर प्राप्त गर्न सकेको छैन ।

त्यो किन भने, क्वान्टम जगत पनि प्रतियमान जगत हो । अर्थात, सोपेन्हावरको भाषामा, विचारको जगत ! हो, सोपेन्हवारको पर्याप्त कारणको नियम अनुसार नै यसले आफ्नो उत्तर भेटाउन सकेको छैन र ऊ विचार नियम वाहिरका यथार्थ र कारकलाई गणितीय मापन गर्न खोज्दैछ । यहाँ थप के पनि भन्न सकिन्छ भने वेभ र वस्तुको अचम्मको व्यवाहार सम्बन्धी सूक्ष्मतामा पनि थाहा भइरहेको छैन किनभने उनीहरू ‘चाह’ का कुरा हुन, त्यो चाह: जुन विचार भन्दा पर छ । उनीहरू बलको रुपमा चाहलाई मापन गर्दै बुझ्न त खोज्छन तर सक्दैनन किनकी उनीहरूको चाह प्रमुख-प्रेरणाको छ, जुन एक हिसाबले आध्यात्मक छ, त्यो पर्याप्त कारण भन्दा पर छ ।

उनी भन्छन:

‘…Physics Chemistry ले गर्ने भनेको ती आधारभूत बललाई फेला पार्ने हो र तिनको नियम बुज्ने हो जुन लाखौँ अन्य प्रतियमान जगतमा देखा परिरहेको हुन्छ..’

‘…जुन बेला भौतिकशास्त्रले प्रकृतिको नियमलाई हरेक वस्तुसँग मिलाएर गणितीय हिसाबले बुझ्छ त्यो नै उसको सफलताको शिखर हो ।  त्यसपछि अजैविक प्रकृतिमा कुनै अज्ञात बल बाँकी रहदैन…’   

‘..जीवलाई केवल भौतिक, रसायनिक एवं यान्त्रिक बलहरूको जोड ठानेर जीवलाई प्रकृतिको आकस्मिकता ठान्ने कार्य भइरहेको छ…विज्ञानहरूले ‘तृष्णाको उच्च जाति’ (तृष्णाको जातिको कुरा अहिले केहीबेरमा हुन्छ) को ज्ञान तल्लो तहबाट निकाल्न खोज्दैछन…’

यता विज्ञानको दोस्रो ठूलो उपलब्धी न्युरोनको पनि हालत त्यही छ:

मस्तिष्कलाई चलाउने सूक्ष्म अङ्गलाई न्युरोन भनिन्छ जुन एक कोषिका (Cell) हो । यिनै न्युरोन, यी जोडेर बन्ने स्नायु र तिनका प्रणालीको विज्ञानलाई  न्युरोसायन्स भनिन्छ । स्नायु प्रणाली शरीरको विद्युतीय-रसायन सञ्चार प्रणाली हो । मस्तिष्क र सुषुम्ना (Spinal Cord) मिलेर सेन्ट्रल नर्भस सिस्टम बनेको हुन्छ भने शरीरभरका बाँकीका स्नायू सञ्चारलाई पेरिफेरल नर्भस सिस्टम भनिन्छ । यो प्रणालीको सबभन्दा मान्छेका सारा संवेदना, सोच, विचार, इच्छा र भावना यही न्युरोन र स्नायु प्रणालीभित्र छन् भन्ने तर्क वैज्ञानिकहरू प्रस्तुत गर्छन् जुन सम्बन्धी उनीहरूका केही ठोस उपलब्धी र धारणाहरू छन् । न्युरोनको विधामा अप्ठेरो परेका ठाउँहरू भने यी हुन:

  • कसरी विद्युतीय-रसायनले बोद्धिकता प्रदान गर्छ? अर्थात ती दुई बीचको खाल्डो कसरी पुरिन्छ?
  • चेतनाको स्नायुगत आधार के? यसमा कसरी र किन जीवहरू प्रतयमान जगतको अनुभव गर्छ? इत्यादि (यी प्रश्न चेतनाका जटिल समस्या अन्तर्गत राखिने गरेको छ)
  • त्यसैगरी, पढाई, स्मृति, भाषा, रोग, दृष्टिकोणको स्नायुगत आधार के?

सैद्धान्तिक आधारमा छरिएर यताउता भएपनि यी प्रश्नको ठोस उत्तर भने छैनन, कमसेकम वैज्ञानिक रूपले । ईन्द्रियमा हुने संवेदना, संवेदनाको दृश्यात्मक, श्रवणिक, स्पर्शगत रूप मस्तिष्कमा तिनले पार्ने विद्युतीय असर, तिनीबाट हुने रसायनिक प्रकृया र रसायनिक प्रकृयाले विपरीत क्रममा गएर पुन: सुचारू गर्ने संवेदनाको दृश्यात्मक, श्रवणिक… रूप जसबाट आउने सोच… यसरी न्युरोन मार्फत स-साना कार्य मिलेर ठूलो कार्य सम्पन्न हुन्छ मस्तिष्क भित्र, चेत सम्मका ! प्रकृया अन्तर्बोध त हुन्छ तर विज्ञान त्यसमा खुसी हुन मिल्दैन । उसले आधार निकाल्नै पर्छ ! यही नै विज्ञानको विशेषता हो र सून्दरता पनि ।

तर माथि उल्लिखित प्रकृया भन्दा परको यथार्थ र ती भौतिक, रसायनिक प्रकृयाका कारकका उत्तर भने विज्ञानको लागि मधुरो छन किनभने ती त्यस्ता जगतमा छन जुन प्रत्यक्ष छैनन । तिनलाई बुझ्नका लागि विज्ञानको पाखुरा छाडेर अरुनै कुराको पाखुरा समाउनु पर्छ । सोपेन्वाहरको भाषामा भन्ने हो भने: जुन ‘विचार पारी छन’

यस सम्बन्धमा सोपेन्हावरको भनाई भने यस्तो छ:

तृष्णा आफैँमा अचेत हुन्छ । चेतना भने हाम्रो बुद्धिबाट अनुकूलित हुन्छ जुन हाम्रो मस्तिष्क, सुषुम्न र हाम्रो स्नायुसँगसँगै सम्पूर्ण प्राणीको असर या फल हो । प्राणी व्यक्तिगत तृष्णाको वस्तुगत रूप हो; मस्तिष्कमा हुने तृष्णाको विम्भ । स्व: चेतनाको लागि पनि अन्य चेतना झैँ, ज्ञाता र ज्ञातको आवश्यकता पर्छ । किनकी चेतनामा ज्ञान हुन्छ र ज्ञानको लागि ज्ञाता र ज्ञात दूवैको  आवश्यकता पर्छ, स्व: चेतना हुँदै हुदैन थियो यदि त्यसमा त्यो तत्व हुदैन थियो जुन ज्ञाताको लागि ज्ञात र बेग्लै छ  किनभने वस्तु विना पनि क्षेत्रज्ञ हुन सक्दैन । ज्ञाताले आफैँलाई  जान्न सक्दैन नत्र भए ऊ अर्को ज्ञाताको लागि ज्ञात बन्थ्यो । यसर्थमा त्यो तत्व भनेको तृष्णा हो जुन ज्ञात छ र प्राथमिक, ज्ञाता भने विम्भ मात्रै हो । यसरी  मान्छे र त्यस्तै प्राणीहरू सर्वौच्च सत्यको सोझै ज्ञान हुने (चेतना) हुने जीवन हुन ।

उनी यो पनि भन्छन कि बौद्धिकता र तृष्णाको खेलमा बौद्धिकता हावी त हुन्छ तर तृष्णासँग बौद्धिकतालाई चलाउने क्षमता हुन्छ जुन उसले नकारात्मक भावनाको सृजनाबाट बच्नै पर्ने अवस्थामा प्रयोग गर्छ र बौद्धिकतामाथि लगाम लगाएर अन्य कार्य गर्न लगाउँछ  । यी दुईको सम्बन्ध भनेको अन्धो व्यक्तिले काँधमा हेर्न सक्ने लङ्गडोलाई बोकेको झेँ हो जहाँ बौद्धिकता कतिपय ठाउँमा तृष्णाका चाल र  कुराबाट अज्ञातनै रहेको हुन्छ । हामीले चाहेको या हामी डराएका कुराहरूपनि कतिपय अवस्थामा बौद्धिकताको जानकारीविनै भईरहेको हुन्छ । बौद्धिकता त्यसैले कहिलेकाहीँ तृष्णाका कुरामा अविश्वास पनि गर्छ ।

उनको यही कुराको हाराहारीमा न्युरोसायन्स अचेत भावको कुरागर्छ जसले चेत भाव भन्दा पहिलेनै र स्वतन्त्र रुपमा कार्य गरिरहेको हुन्छ । कतिपय प्रयोगहरूमा भावनाको बोध भएपछि गरिएको निर्णय भन्दा पहिलेनै, अर्थात भावको बोध पहिले नै निर्णयको असर परिसकेको न्युरोसायन्सले पाएको छ ।

यी सब त भए सोपेन्हावरको दर्शनको दृष्टिबाट विज्ञानका कुरा । वैज्ञानिक प्रकृयाले नियम बताउने हो, खास यथार्थ या प्रेरणा होइन भन्ने उनको भनाई हो ।

समग्र दर्शनको र अन्य विधाको दृष्टिबाट विज्ञानका अनेकन परिभाषाहरू छन जसलाई छुने यो लेखको आशय होइन । विज्ञान, दर्शन, अध्यात्म, कलाका विभिन्न सम्बन्धको बारेमा र उपलब्धीको बारेमा विस्तृत विश्लेषणहरू अरूनै कुनै ठाउँमा अवश्य नै गरिनेछ । त्यसैले अगाडि बढौँ, सोपेन्हावरले मानेका विधि : कला तर्फ ।

हो, उनी कला मार्फत मात्रै विचारपरको ज्ञान ठम्याउन सकिन्छ भन्छन । उनी कला अर्थात सौन्दर्य रूपी चिन्तनको बारेमा भन्छन,

‘त्यस्तो चिन्तनमा हामीले दुईटा अंश पाउँछौँ – वस्तुको ज्ञान; विशेष  वस्तुको रुपमा होइनकि प्लेटोको प्रत्यय (Idea) को रूपमा अर्थात वस्तुको पूरै जातको रुपमा र ज्ञाताको स्व: चेतनाको ज्ञान;  ; विशेष व्यक्तिको रुपमा होइनकि शूद्ध चाह-विहिन ज्ञानको क्षेत्रज्ञको रुपमा… पर्याप्त कारणको नियमलाई छाडेको ज्ञानीको रूपमा…’

‘…कलाले शूद्ध चिन्तनबाट प्राप्त भएको अनन्त विचारलाई दोहोर्याउँछ…यसको एउटै श्रोत भनेको विचारको ज्ञान हो भने यसको एउटै उद्धेश्य भनेको त्यसको सञ्चार हो । जहाँ विज्ञानलाई कारण र असरको चार किसिमको अनित्य प्रवाहमा परेर लक्ष्यमा अगाडि बढ्न अप्ठेरो  हुन्छ र अन्तिम लक्ष्यसम्म पुग्न सक्दैन, जसी दौडेर हामी क्षितिजको बादललाई छुन सक्दैनौ…कला भने सबैतिर आफ्नो लक्ष्यमै छ । किनभने यसले आफ्नो चिन्तनको वस्तुलाई संसारको प्रकृयाबाट टिप्छ र अगाडि नांगो पारेर राखिदिन्छ । यसरी नै कुनै वस्तु विशेष जुन संसारको प्रवाहमा एउटा सानो अंश थियो, कलाको लागि पूर्णताको प्रतिनिधि हुन्छ तसर्थ कला एउटा वस्तुविशेषमा अड्छ, यसले समयको पाङ्रा लाई रोक्छ । यसको लागि सम्बन्ध हराउँछ र केवल महत्वपूर्ण बाँकि रहन्छ: विचार; यहीनै यसको वस्तु हो…यसलाई हामी कलालाई पर्याप्त कारणको नियमभन्दा स्वतन्त्र भई हेर्ने प्रकृया भन्न सक्छौँ  ।’

तर यसमा अगाडि बढ्नु पूर्वहामीले केही कुरा थाहा पाउनु पर्छ ।

सबै तृष्णा आवश्यकताबाट पैदा हुन्छन तसर्थ वेदनाबाट । एउटा चाहको अन्त्यसँगसँगै कमसेकम दश वटालाई छाडिन्छ । चाहना धेरै समयको लागि रहन्छ भने माग असङ्ख्य हुन्छन; र तिनको प्राप्ति क्षणिक । कुनै  वस्तुको प्राप्तिले पनि आनन्द दिन सक्दैन किनभने त्यो भिकारीलाई आज भिक दिएर भोलिको लागि उसको दुख साँच्नु जस्तो हो । तसर्थ जब सम्म हाम्रो चेत तृष्णामा हुन्छ हामी कहिले पनि सुख या शान्ति पाउन सक्दैनौ ।  तृष्णा नै कालातीत, देशातीत, मूलतत्वर कारणविहिन क्रिया हो । त्यो त्यही तृष्णा हो जसले जीवहरूको बुद्धि र क्रियाहरूलाई सञ्चालिन गर्छ । त्यो यही तृष्णा हो जुन भौतिकतत्व, क्षेत्रज्ञ: विचारलाई निकालेपछि बाँकी रहन्छ; हरेक विचारको कारक, श्रोत ! प्रकृतिमा सबैतिर तृष्णाकै  भिन्न जातले कार्य गरिरहेका छन । वृक्षमा प्रकाशको तृष्णा, हिंस्रक जनावरमा सिकार मारेर खाने तृष्णा, मानिसमा चेतनायुक्त रुपमा । तृष्णा भनेकै आत्मा हो र शरीरपनि तृष्णाकै आभास हो  । तर यसर्थमा कि शरीरको चालकको रूपमा जसलाई केवल शरीरको कार्यको रुपमा देखिन्छ । तृष्णाको कार्य र शरीरको कार्य यी कार्यकारणको सम्बन्धमा रहदैनन । तिनीहरू एउटै हुन तर दुईटा बेग्ला बेग्लै तरीकामा । शरीरको कार्य भनेको तृष्णाको वस्तुकरण बाहेक केही होइन । अर्थात, प्रत्यक्ष भइएको रुपमा ।

तृष्णाको यस्तो वस्तुकरण जुन देशकालमा बहु-रुपमा देखिन्छन, ती देशकालले नै अनुकुलित गरेको हुन्छ त्यसैले त्यो बहुरुप देशकालमा मात्रै देखिन्छ । यो तृष्णा एक मात्र छ र देशकाल पारी छ । ठूलो तृष्णा, सानो तृष्णा भन्ने कुराहरू पनि केवल प्रतीयमान जगतमा छन र केवल तृष्णाको प्रत्यक्ष रुप हुन जुन यही वस्तुकरणको कारणले भएको हो । यो वस्तुकरण ढुंगामा भन्दा वनस्पतिमा अधिक छ र त्यो भन्दा जनावरमा । यी सबै तृष्णाको वस्तुकरणको जातहरू हुन ।

उनको यो विचार मायावादी गौडपादको दर्शनसँग मिल्दो जुल्दो छ यसर्थ मा कि उनी (गौडपाद) पनि एउटा अदृश्य तत्वलाई मान्छन जुन माया र भ्रमको जगत भन्दा पर छ, जीवहरू छैनन… । सोपेन्हावर र गौडपादको विचारको एक समानता भनेको बौद्ध शून्यवादको पनि निकटतम रहनू पनि हो ।

सरल रूपमा बुझ्न, उनको लागि तृष्णा जे हो, ब्रह्मवादको लागि ब्रह्म त्यो हो भन्दा हुन्छ: एकै तृष्णाको भिन्न-भिन्न रूप । उनी तृष्णा जुन वस्तु-निजरुप हो त्यसको अर्षत के त, अर्थात जीवनको अर्थ के हो भन्ने विषयमा भन्छन कि,

‘प्रेरणा भनेको पर्याप्त कारणको रुप हो । यो वस्तु-निजरुपमा लागू हुदैन । तृष्णा आफैँ अन्तहीन व्याकुलता हो । तसर्थ जब सम्म हाम्रो चेतना तृष्णामा हुन्छ हामी कहिले पनि सुख या शान्ति पाउन सक्दैनौ ।’ 

तृष्णाको वस्तुकरणका विभिन्न जात छन । ती सबै प्लेटोको ‘प्रत्यय’ नै हुन भन्छन सोपेन्हावर जसलाई तल्लो जतिय र उच्च जातिय भनी दुई समान्य विभाजन गर्छन उनी ।

तल्लो जातीय वस्तुकरण ती चीजमा देखा पर्छन जुन, प्रकृतिमा सर्वव्यापी बलको रूपमा बसेका छन । जस्तो, गुरुत्वाकर्षणको रुपमा यी बल बसेका हुन्छन । यिनीहरूलाई कार्य-कारक भन्न भने मिल्दैन किनभने यिनीहरू उल्टै कार्यकारकका आधारभूतता हुन ।

त्यसैगरी  उच्च जातीय वस्तुकरण ती चीजमा देखा पर्छन जसमा व्यक्ति-विशेष गुण हुन्छ, जस्तो: मान्छेमा ।

यी दूई वस्तुकरण भएका तृष्णालाई कलाको मार्फत बोध गर्न सकिन्छ । किनभने एउटा असल कलाकारमा विद्वान पुरुषको गुण: चाह विहिन शूद्ध चिन्तनको क्षमता हुन्छ । जहाँ प्रकृतिले दैनिक हजारौँमा निकाल्ने साधारण व्यक्ति केवल तृष्णाको सम्बन्धमा मात्र कुराहरूलाई हेर्न सक्छ, विद्वान पुरुषले भने तृष्णा त्यागेर पूरै वस्तुमा हराई हेर्न सक्छ । विद्वान व्यक्तिमा ज्ञान तृष्णाभन्दा उपर हुन्छ । रुसो, बाइरन जस्ता व्यक्ति विद्वान हुन । तसर्थ विद्वत्ता भनेको पर्याप्त कारणको नियम भन्दा पर उठ्ने हो र विशेष कुरा हेर्ने होइन कि कुराहरूको विचारलाई चाह विहिन भई, तिनमा आफ्नो चाहसँगको सम्बन्धलाई बिर्सी, शुद्ध ज्ञानी क्षेत्रज्ञ भएर हेर्ने हो । यसरी हेर्दा तृष्णालाई छाडी आफ्नै व्यक्तित्वमाथि पुगिने हुनाले आध्यात्मिक आनन्दमा पुगिन्छ । त्यसको साथसाथै त्यस्तो बेला यदि हामीले आफूलाई ब्रह्माण्डको अनन्त महानता मा डुबायौँ भने आफूलाई सानू, तृष्णाको तुच्छ रुपको रुपमा देख्छौँ । यसरी हेर्दा यदि हामीले हाम्रो व्यक्तित्वलाआई बिर्सिए पछि जुन संसारले पहिले हामीलाई दुख दिन्थ्यो त्यसलाई हामी भित्रै पाउँछौ । यो सब एक चेतनाको रुपमा आउँछ जसको बारेमा उपनिषद र वेदले बारम्बार भन्छन । यो उदात्त हो ।  (यहाँ नेर ब्रह्मवाद उनको लागि केवल एकताको चेतना मात्रै हो भन्ने स्पष्ट हुन्छ । त्यस्तो एकता जुन छ, जसले एकताभासद्वारा आनन्द  त दिन्छ तर खुद आनन्दको अवस्थामा नभई केवल अन्त्यहीन तृष्णाको अवस्थामा छ । Will to Exist को रुपमा त्यो विचार दूनियामा कायम हुन्छ)।

यस्तो किसिमको हेराईमा सून्दरता स्वत: हुन्छ भन्छन उनी,

‘आफ्नो तृष्णाको सम्बन्धविना हेरिएको वस्तुमा विचारभित्र तृष्णाको खेल हर्दा त्यो स्वत: सून्दर देखाई दिन्छ ।’

त्यसैगरी सून्दरता र उदात्त (Sublime) को भिन्नताको बारे उनी भन्छन,

‘सून्दरतामा संघर्षविना ज्ञान आउँछ भने उदात्तमा त्यो शूद्ध ज्ञान तृष्णासँग संघर्ष गर्दै चेतनासाथ त्यहाँ पुग्दामा आउँछ ।’

त्यसरी सून्दरता र उदात्तको विषय कलानै हो भन्छन उनी जसले यथार्थ देखाउने मात्र होइन व्यक्तपनि गराउन लगाउछ । यसर्थमा कला भनेकै त्यो अद्वेत तृष्णालाई र त्यसको विभिन्न वस्तुमा प्रस्तुतिकरणलाई दर्शन गराउने माध्यम हो । यसमा जीवनमा र विज्ञानमा अधिक महत्व राख्ने ‘अवधारणा’ को खासै महत्वपनि हुदैन ।

‘सबै कलाको एकै उद्धेश्य भनेको त्यो विचारलाई प्रत्यक्ष र स्पष्ट पार्नु हो जसले आफूलाई हरेक कलामा वस्तुकरण गर्छ…तृष्णाको  विचार जसले आफूलाई विभिन्न जातिय तहमा वस्तुकरण गर्छ ।’

कलाको विभिन्न प्रकारको बारेमा उनको विचारपनि उतिनै उत्कृष्ट छ ।

उनी वास्तुकला (Architecture) लाई तल्लो जातीय वस्तुकरण भन्छन जसको व्यावहारिकता बाहेकको उद्धेश्य भनेको  गुरुत्वाकर्षण, कडा-नरम, इत्यादि तल्लो जातीय विचारलाई  प्रत्यक्ष पार्नु हो जुन तृष्णाको साधारण रुप हुन । यसमा पनि तर हामीले प्रकृतिको मतभेद देख्न सक्छौँ । गुरुत्वाकर्षण र कडापनाको द्वन्द्वनै यसको एकमात्र सौन्दर्यता-पक्ष हो । यही द्वन्दँलाई विभिन्न तरीकाले देखाउने यसको काम हो । यसको विशेष समबन्ध प्रकाशसँग हुन्छ । यसबाट आउने सौन्दर्यरूपी आनन्द शूद्ध चिन्तनमा हुन्छ, यसले कुनै त्यस्तो विचारको प्रस्फुटन गर्दैन जसरी नाटकले गर्छ । किनकी यो (वस्तुकला) सौन्दर्यको कारणभन्दा अरूनै  प्रयोगको लागि हुने गर्छ यसको उपलब्धी भनेको शूद्ध सून्दरतालाई प्रतिकुल अवस्थामा पनि प्रयोगमा ल्याउदामा हुन्छ ।

जलको कलात्मक प्रयोग – जहाँ वास्तुकलाले गुरुत्वाकर्षणको विचारको प्रयोग गर्छ यसले त्यही विचार तरलताबाट गर्छ ।  यसले तरलता र गर्हूँ भौतिकतत्वको विचार त्यसरीनै प्रस्तुत गर्छ जसरी वास्तुकलाले कडा-नरमबाट । तर यसले उपयोगीतापूर्ण जलगतिशास्त्रबाट त्यति समर्थन पाउँदैन जति सौन्दर्यतापूर्ण वास्तुकलाले उपयोगी वास्तुकलाबाट पाउँछ ।

बागबान (Horticulture) – वनस्पतीको प्रकृतिको तृष्णाको उच्च जातीय वस्तुकरण भनेको यसले गर्छ । कुनै पनि स्थलको सून्दरता भनेको त्यसमा भएका प्राकृतिक वस्तुको विविधताको कारणले र तिनको सजावटले गर्दा आउँछ ।  Gardening मार्फत यो त हुन्छ तर भौतिक वस्तुप्रति त्यति नियन्त्रण हुदैन किनभने  यसको सून्दरता प्रकृतिको हो र प्रकृतिको साथ नपाएको ठाउँमा यसले थोरै मात्र गर्न सक्छ ।  

प्राकृतिक चित्रकला (Landscape painting) – वनस्पतिलाई कलामै प्रयोग गर्दा त्यो प्राकृतिक चित्रकला बन्न पुग्छ । किनकी अन्य चित्रकला झेँ यसमा चित्रकारले आफ्नो आखाँले देखेको प्राकृतिक कुरा हुबहु देखाउँछ र तृष्णाको शान्ति हुन्छ,  यसका भने विचारपनि अर्थपूर्ण हुन्छन त्यसैले यो  उच्च जातीय वस्तुकरण हो ।    

जीवजन्तुको चित्र र मूर्तीकला – यो हालसम्मको कला भन्दा उच्च जातीय कला हो । यसमा जीवहरूको स्वतन्त्र अवस्थाको चित्रण गरिएमा हामीले विभिन्न जातिको तृष्णालाई देख्न सक्छौँ । जीवजन्तुमा हामीले हामीभित्रै भएको तृष्णालाई बौद्धिकताको बन्धनविनै स्वतन्त्र अवस्थित रुपमा हेर्न सक्ने हुनाले हामी जीवजन्तुप्रति आकर्षित हुन्छौँ ।

ऐतिहासिक चित्रकला तथा मूर्तिकला – यसको कार्य भनेको तृष्णा जुन विचारमा वस्तुकरणको जातीय शिखरमा पुग्छ त्यसलाई सिधै या प्रत्यक्ष रुपमा अभिव्यक्त गरिदिनु हो । सून्दरताले प्रदान गर्ने आनन्दको वस्तुगतरूप यसमा देख्न सकिन्छ । यसमा मानवताको तृष्णालाई व्यक्तिविशेष गुणको रूपमा देख्न पाइने हुनाले यो उच्च छ (माथि उल्लेख गरिसकियो)।

यसका मुख्य पक्ष भनेका मानव चरित्र र सुन्दरता हुन । यसका अन्य विभिन्न पक्षहरू पनि छन जसको गहिराईमा हामी यहाँ जादैनौँ ।

काव्य (Poetry) तृष्णाको वस्तुकरणको सबभन्दा उच्च जातमा त्यो विचारको प्रस्फुटन छ जसमा मान्छेलाई उसको प्रयत्न र कार्यको चक्करमा देखाइन्छ । काव्यको विषय यही हो । हुन त इतिहासको कार्यपनि यही हो तर जहाँ इतिहासमा प्रतियमानताको सत्य छ काव्यमा विचारको सत्य छ । एउटा कविले विचारलाई बोध गर्छ – मान्छेको भित्री प्रकृतिको, सबै सम्बन्ध भन्दा पर, कालभन्दा पर । इतिहासले मानिसको प्रकृतिको बारेमा कहिले पनि दिन नसक्ने विम्भ काव्यले दिन्छ । तसर्थ मानिसको विचारको प्रस्तुति हुने हुनाले यो उच्च छ ।   

गीत (Song)यसमा जे प्रस्तुत गरियो त्यही प्रस्तोता हुन्छ । यसमा कविले आफ्नो अवस्थाको बर्णन गर्छ । यो सजिलो माध्यम हो किनभने एउटा साधारण व्यक्तिले पनि सुन्दर गीत रचना गर्न सक्छ जुनबेला भावनात्मक जोशमा परेर उसले आफ्नो अवस्थालाई प्रत्यक्ष गर्छ । तर असली कविको कार्यमा मानवताको यथार्थ प्रकृति देखिन्छ । गीतको बोलमा गीतकारको तृष्णाको विषय पाइन्छ या त हर्ष, वेदना या विलापको रुपमा । यसदौरान ऊ आफूलाई शूद्ध तृष्णा विहिन ज्ञानी पाउँछ र आनन्दित हुन्छ ।

उपन्यास, महाकाव्य र नाटक – यिनमा मान्छेको विचारक प्रस्फुटनलाई दुई तरीकाबाट गरिन्छ – पात्रको उचित प्रस्तुतिबाट र त्यस्ता वातावरणको निर्माण बाट जहाँ उनीहरूको चरित्र देखियोस । एउटा इन्जिनियरले जलको तरलतासँग जे गर्छ; महा या नाटकीय कविले मान्छेको विचारसँग त्यही गर्छ । यी सबै विधामा मानिसको चरित्रको परिक्षण हुन्छ र तिनलाई विभिन्न अवस्थामा देखाइन्छ । यसरी हृदयको गहराई हेर्न पाइन्छ । यसरी साहित्यले मान्छेको विचारलाई वस्तुकरण गर्छ ।

शोकसाहित्य (Tragedy) – यो साहित्यको उत्कर्ष हो; सर्वौच्च विन्दु हो । जीवनको वेदना-पक्ष देखाउदा यसको सबभन्दा ठूलो काव्यात्मक सफलता हुन्छ । मान्छेको व्यक्त गर्नै नसकिने दुख-दर्द-मर्म, भाग्यको निरंकुशता, न्यायवान र असलको पतन यसमा देखाइन्छ । यसरी तृष्णाको आन्तरिक द्वन्द्व यसमा नाङ्गै पारिन्छ र वस्तुकरणको सर्वोच्च जातिय रूपमा यसलाई त्रसित हुनेपर्ने कुराको भनिन्छ । मान्छेको दुखमा जुन मान्छे-मान्छेबीचको चाहनाको द्वन्द्वकोकारणले आइपर्छ त्यो देखाइन्छ । तृष्णा, जुन सबै मान्छेमा हुन्छ त्यो व्यक्ति अनुसारनै बलियो र कमजोर भई रहेको हुन्छ । यसको बारे पनि ज्ञानको तह बेग्ला बेग्लै हुन्छन तर त्यसलाई दुखले अन्तत: यसरी उच्च पारिदिन्छ कि क्रमबद्धरुपले सबै प्रतीयमान जगतले झुकाउने विन्दुभन्दा पर पुगेपछि ‘अहं’ सकिन्छ र संसारको यथार्थ प्रत्यक्ष हुन्छ जसले तृष्णलाई शान्त पार्छ । केवल जीवनको समर्पण मात्र होइन, जीवनको तृष्णाकै समर्पण हुन्छ ।

सङ्गीत (Music) – यो कला अरू सबै कला भन्दा भिन्दै छ किनभने यसमा हामी संसारको कुनै पनि प्राणीको विचारको नकल या पुन:प्रदर्शन पाउदैनौँ । यो प्रतीयमान जगत भन्दा स्वतन्त्र छ ।

यो खास अर्थमा सम्पूर्ण तृष्णाकै प्रत्यक्ष वस्तुकरण र हुबहु रुप हो; विचार झैँ । यसर्थमा सङ्गीत भनेको विचारको नकल नभएर तृष्णा आफैँको नकल हो । यही कारणले सङ्गीतको असर हामीमा यति गहिरो र प्रगाढ हुने गर्छ ,अरू कलाको तुलनामा । अन्य कलाले छायाँको कुरा गर्छन भने सङ्गीतले सारको । तसर्थ, लेब्निजको शब्दलाई प्यारोडी गरी भन्ने हो भने,

‘सङ्गीत भनेको आधारभूत शास्रमा गरिएको अचेत कार्य हो जसमा दिमागलाई थाहा हुदैन कि ऊ दर्शन गर्दै छ’    

यसरी उनले विभिन्न कलालाई व्याख्या गर्छन जसलाई विश्लेषण गर्न थाल्ने हो भने लेख नभएर यसले पुस्तकको रुप लिन थाल्छ । त्यसैले यसलाई यतिमै रोकेर उनको मूख्य विचार तर्फ अग्रसर हौँ ।

जहाँ कलाले हामीलाई तृष्णाको सेवाबाट क्षणिक मुक्ति दिन्छ यस वेदना र दुखले भरिएको तृष्णा-जीवनबाट खास मुक्ति भने हरेक चाहना त्यागेपछि मात्रै सम्भव हुन्छ ।  उनी जीवन बाँच्नुलाई तात्-तातो कोइलामा घुमिरहनु सँग तुलना गर्छन जहाँ ठाउँ-ठाउँमा कोइला नभएको ठाउँमा क्षणिक रोकिदा हामी त्यसलाई सुख भन्छौँ । त्यसरी जादा हाम्रो गन्तव्य त्यो वेदनारहित विन्दु हुन पुग्छ र त्यसैलाई मानवताले लक्ष्य बताइदिन्छ । तर खासअर्थमा ती त केवल वेदनाका क्षणिक अनुपस्थितिहुन, जसरी तीर्खाको बेला पानी पिउँदा या चिलाएको बेलामा चिलाउँदा हुन्छ । अविद्यामा परेको मान्छेले मात्र कोइलाको अनुपस्थितिमा सान्तवना लिन्छ । तर जसले यथार्थ देखेको छ, ऊ सबैतिर एकता देख्छ र  आफैँलाई सबैतिर र अन्तत: ऊ दौड छाडिदिन्छ । यो बखतमा ऊ सद्गुण छाडेर साधु बन्छ ।  साधुत्व अर्थात, तृष्णाबाट निक्लेर सहमतपूर्णलाई छाडी असहमतलाई छान्नु; त्यागको जीवन…निरन्तर तृष्णाको हत्याको निम्ति !

यसरी जीवनलाई कहिले तृप्त नहुने प्रकृया भन्दा उनको निराशावादी दर्शन स्पष्ट हुन्छ । यस संसारमा ईश्वर छैनन, किनभने यस्तो वेदना पूर्वक संसारको लागि ईश्वर धेरैनै ‘राम्रो’ छन हुन को लागि । उनको ईश्वरप्रतिको यो धारणा बुद्धसँग धेरै नै मिल्दोजुल्दो छ । यसरी उनी जीवनको परिभाषा दिन्छन:

  • यो जीवन नैतिक रुपले गलत छ
  • यसको कुनै अर्थ या गन्तव्य छैन
  • यसमा सँधै आनन्द भन्दा वेदना बढी छ ।

तसर्थ, हामीले साधु जीवन अवलम्वन गरेर, जीवनलाई वहिष्कार गरी, जीवनको तृष्णालाई अस्विकार गरी, सबै तृष्णालाई जरैबाट अस्वीकार गर्न बाहेक केही गर्न सक्दैनौ  ।  अन्तत: यो तृष्णालाई छाड्दा, विचारको संसार आफैँ बिलाउँछ । हाम्रो अगाडी (Nothingness) बाहेक केही रहदैन ।

समग्रमा:

संसार भनेको विचारको रूपमा छ जुन विचार पर्याप्त कारणको नियमबाट चलायमान छ । यो प्रत्यक्ष विचारगत संसारलाई बुझ्नका निम्ति विभिन्न विज्ञानहरू छन तर यो वैचारिक संसार बाहिरको यथार्थ संसार जुन तृष्णा हो, त्यसलाई बुझ्नका लागि भने विशिष्ट क्षमता चाहिन्छ । त्यो क्षमता भनेको तृष्णा बिर्सिएर वस्तुमा पुरै हराउनु (चिन्तन गर्नु) हो । यो क्षमता विद्वान-पुरुषमा रहेको हुन्छ जसअन्तर्गत एउटा व्यक्ति आफूलाई बिर्सिएर शूद्ध साकार (Objective) हुनु पर्छ । यसरी शूद्ध ज्ञानी क्षेत्रज्ञ भइएमा संसारको सारको स्पष्ट रूप देखिन्छ अर्थात तृष्णाका खेलहरू देखिन्छन । जहाँ विज्ञान विचारको दूनिया भित्रको नियमलाई बुझ्न सक्छ, कलाले भने चाहको दूनियालाई समात्छ । तर कलाको कार्यपनि क्षणिक हुन्छ ।

तृष्णाको तृष्णा भनेको सँधै जीवन हो । जीवन भनेको त्यो विचारको तृष्णा हो त्यसेले हामी ले ‘तृष्णा’ भन्नु र ‘जीवनको तृष्णा’ भन्नु एउटै कुरा हो । जहाँ तृष्णा ‘वस्तुनिजरुप’ हो, जीवन, जुन देखिने संसारमा छ, त्यो तृष्णाको ऐना, विम्भ मात्रै हो । त्यसैले जीवनले तृष्णालाई त्यसरीनै पछ्याउँछ जसरी छायाँले शरीरलाई । तृष्णा छ भने जीवन, अर्थात संसारपनि छ । हामीले व्यक्तिहरूलाई अस्तित्वमा भएको देख्छौँ र मरेको पनि; तर त्यो व्यक्ति केवल प्रतीयमान हो जुन केवल पर्याप्त कारणबाट ग्रस्त ज्ञानको लागि अस्तित्वमा छ । यस्तो ज्ञानको लागि व्यक्तिले जीवनको उपहार त पाउँछ तर त्यो जीवन सिद्धिन्छ पनि । तर यदि हामी दार्शनीक रुपले हेर्यौँ भने के देख्छौँ भने – न तृष्णा न ज्ञाता लाई जन्म-मृत्युले असर गर्न सक्छ ।  जन्म र मृत्यु तृष्णाको प्रतियमान रुप हुन , अर्थात जीवनको ।  यो सबै वस्तुकरणको निम्ति हो ।

यो अस्तित्व, जुन पूरै वेदनामा अडेको छ र दुख हो, त्यसमा भएका तृष्णा कहिले अन्त्य हुदैनन । तृष्णाको पूर्ण त्यागनै समाधान हो । त्यसको लागि हामीले साधु जीवन अवलम्बन गर्नु पर्छ जसमा जीवनको तृष्णालाई अस्वीकार गरिएको हुन्छ ।

यसरी उनले अध्यात्म – जसले, मानिस अथवा प्राणीको शारिरीक र मानसिक आवश्यकताको संसार भन्दा परको भावीय र उर्जात्मक यथार्थसँग सरोकार राख्छ, त्यसलाई सटिक दार्शनीक रूप दिए ।

यो कुरालाई स्पष्ट पार्न चाहन्छु किनभने दर्शन, Philosophy र अध्यात्ममा झुकिन सजिलो छ ।

अध्यात्मक के हो भन्ने विषयमा, अरविन्द घोष भन्छन,

‘आफ्नो भित्री यथार्थप्रति आखाँ खुल्नु । त्यसमा रहेको आत्मसँग परिचित हुनु, जुन मन, जीवन, र शरीरभन्दा बेग्लै छ…त्यो भित्री यथार्थ सँग सम्पर्कमा आउनु जुन ब्रमाण्डभरी छ र हामी भित्र पनि छ…आफ्नो सम्पूर्ण जीवनलाई त्यसमा मिसाएर नयाँ बन्नु…नयाँ प्रकृति..’

त्यस्तै दर्शनको अर्थ हुन्छ: यथार्थसँग साक्षातकार हुनु, अर्थात यथार्थको दर्शन गर्नु ।

जसरी हामी कुनै गन्तव्यमा जाने क्रमलाई ‘यात्रा’ नाम दिन्छौँ र त्यस सम्बन्धी सबै तयारी, मूल्यांकनलाई पनि ‘यात्रा’ अन्तर्गतनै हाल्छौँ, त्यसरी नै दर्शनलाई – यथार्थ हेर्ने माध्यम, यथार्थको पढाई, माध्यमको पढाई पनि भन्न सकिन्छ जुन माथिको अरविन्द घोषको भनाईको अर्थमा ‘आत्म’ को दर्शन हुन जान्छ; अर्थात आत्मा हेर्ने  माध्यम, आत्माको पढाई, इत्यादि । यसरी, आत्मको दर्शन गर्ने प्रकृयालाई दर्शन भन्न मिल्छ ।

तर यो आत्माको मात्र लागू हुन्छ भन्ने हुँदैन । यसो त अध्यात्म शब्दनै आत्माको लागि मात्र हो भन्न मिल्दैन । बौद्धहरू अनात्मावादी हुन, तर उनीहरूले जे यथार्थ बुझेका छन ‍यो उनीहरूको लागि अध्यात्म हुन्छ । त्यसैगरी त्यहाँ पुग्ने माध्यमको खोजी, पढाई उनीहरूको दर्शन !

जहाँ दर्शनको कार्य यही एक यथार्थको ‘दर्शन‘ गर्ने नै हो, दर्शन (Philosophy) त्यो खोजी बुद्धि र बौद्धिकताको आधारमा गर्छ र त्यसरी सत्य हेर्न खोज्छ । यो दर्शनको परिभाषा भने पश्चिमी दर्शनको परिभाषा हो जुन, भाव या शक्तिमा धेरै केन्द्रित नभई, बुद्धि तर्क, र विचारमा केन्द्रित हुन्छ । अर्थात पूर्वेली दर्शनमा भनिने झैँ – हृदयमा ध्यान गर भन्ने यसमा त्यति लागू हुँदैन । भयो भने पनि त्यसको वैचारिक या तार्किक पुष्टि दिनु पर्छ । फेरि पनि, जहाँ पूर्वीय दर्शन प्रकृया भाव र उर्जा-शक्ति केन्द्रित पनि छ, पश्चिमी बुद्धि र विचार केन्द्रित । यसर्थमा पूर्वीय दर्शन प्रकृया सोझै रहस्यवादसँग जोडिन्छ । जस्तो बुद्धको, गौडपादको । पश्चिमी दर्शन भने यसबाट टाढानै बसेर हेर्न खोज्छ तर यो प्रकृयाको प्रयोग पश्चिमी कला, साहित्य, धर्ममा भने प्रसस्त मात्रामा हुनेनै गर्छ ।

तर सोपेन्हावरले भने दर्शनको यो आधारलाई नै चुनौती दिएको पाइएको छ; यो भनेर कि त्यस्तो बुद्धिगत प्रकृया (पर्याप्त कारण यसको नमूना) बाट मात्रै सत्यसम्म पुग्नै सकिदैन, सत्य हेर्न शूद्ध तृष्णाविहिन चिन्तन गर्न सक्नु पर्छ । तृष्णा विहिनतालाईआधारभूत मान्दा, उनी पूर्विय दर्शन प्रकृयासँग सहमत देखिन्छन । बुद्धले महत्व राखेको पनि यसैमा हो र उपनिषद पनि यही भन्छ ।

यही विशेषता अनुसारनै सोपेन्हावरले ‘त्यो’ यथार्थ, त्यो भित्री सत्यलाई दार्शनीक दृष्टि प्रदान गरे जहाँ तृष्णा र शून्यता उनको आध्यात्मिक विषय भयो: त्यो एक सत्य ।

यो सबै जान्ने प्रकृयामा सोपेन्हावरले कलालाई निकै नै ठूलो दर्जा दिए : सर्वोच्च यथार्थको ज्ञान हुने साधनको दर्जा । यसमा उनको  दर्शन वैदिक दर्शनसँग मिल्दो जुल्दो छ । यसर्थमा उनले जुन आदर्श व्यक्तिका कुरा गर्छन, ती जसले कलामार्फत सत्य छुन्छन, ती प्राचीन साहित्यिक ऋषिहरू हुन भन्न सकिन्छ । उनको सिद्धान्तलाई वेदिक जीवनमा ल्याएर हेर्ने हो भने पनि महा-ग्रन्थका रचनाकार र सङ्गीतमार्फत सर्वोच्च पुग्ने प्रकृया प्रसस्त पाइन्छ । जहाँ रागरूपी सङ्गीत ईश्वरको सोझो प्रस्तुतिकरण हो भनिन्छ । यसरी वेदान्ती कलाको अन्त्यनै सर्वोच्चको ज्ञानमा देखिन्छ । कलाको महत्व सम्बन्धी उनको विचार बौद्ध विचारसँग भने मेल खादैन जहाँ बुद्ध सङ्गीतलाई अनुचित मान्छन ।

सोपेन्हारवरका अन्य विषयका विचार यहाँ छन:

Sexual Love: प्रेम भनेको यौन चाहनामा गाडिएको हुन्छ र यसर्थमा त्यो यौन चाहना मात्रै हो । यसले (यौन) सबैको जीवनमा धेरैनै असर पारेको हुन्छ । हरेक सम्बन्धको आधार भनेको शारिरीक प्राप्ति हो । दुईटा मान्छे प्रेममा हुँदा उनको लागि त्यो उच्च भाव भए पनि प्रकृति केवल जन्म हेर्दो हुन्छिन । यो सबैको खास उद्धेश्य भनेको सन्तान हो : अर्थात यो सबै ‘Will to Live’ हो जहाँ आफ्नो बच्चमा उनीहरू आफ्नो गुण जोडेर बाँचिरहन चाहन्छन ।

स्वेच्छा: तृष्णा आफैँमा स्वतन्त्र छ ।  यसलाई आवश्यकता थाहा छैन । विचार आवश्यकता हो ।  तृष्णाको प्रतियमान जगतमा वस्तुकरण भने पर्याप्त कारणको नियममा वाँधिएको हुन्छ । यसर्थ त्यसैमा नियति हुन्छ । मान्छेमा तृष्ण उच्च तहमा हुन्छ । उसमा तृष्णा पूर्ण रुपले चेत रहन पनि सक्छ तर तब, जब ऊ त्यहाँ सम्म पुग्छ जहाँ कलाको उच्च श्रेणीले लैजानसक्छ या त्यो भन्दा उता जहाँ तृष्णाले आफ्नै ज्ञान आफैँमा लागू गर्छ, त्यो सब सकिन्छ । यस्तोमा तृष्णा प्रतियमान जगतमा देखिन सक्छ र त्यसलाई आफैँसँग द्वन्द्वमा लिएर आइदिन सक्छ  ।

नैतिकता: हामी जे हाम्रो लागि उचित छ, त्यसलाई राम्रो भन्छौँ भने तृष्णा अनुरुप नहुने कुरालाई हामी नराम्रो भन्छौँ । यसरी सबै ‘राम्रो’ भनेको मूलभूत रुपमा सापेक्ष छ किनभने चाह गर्ने तृष्णाको दृष्टिबाट हेर्दामा मात्र यसको खास प्रकृति छ । परम-राम्रो’ भन्ने हुँदैन । हुने थियो भने तृष्णाको पूर्ण तृप्ततामा हुन्थ्यो जुन सम्भव  छैन किनभने तृष्णाको कहिले पनि शान्त हुदैन । त्यसैले अस्थायी राम्रो भन्ने मात्र हुन्छ । तृष्णाको विरोध र तृष्णाविहिनतालाई भने हामीले परम-राम्रो भन्न सक्छौँ ।

अरूमा हुने तृष्णाको बेवास्ता  गरेर नराम्रो गरिरहनेलाई हामी गलत भन्छौँ ।

नैतिकताको  पाठ मात्र सिकाउने शिक्षाले केही असर पार्न सक्दैन किनभने त्यसमा प्रोत्साहन तत्व हुदैन । त्यसैगरी प्रोत्साहन तत्व हुने तर नैतिकता नहुनेको पनि कुनै महत्व हुदैन यो केवल स्व: प्रेममा केन्द्रित हुन्छ । यसरी, नैतिक सिद्धान्तबाट सदगुण पैसा हुदैन । जसरी कलाको ज्ञान बाँड्दैमा घागडान कलाकार जन्मिदैनन ।

न्यायवान मान्छे त्यो हो जसले अरूमा भएको तृष्णालाई असर पारेर आफ्नो तृष्णा पुरा गर्दैन । तृष्णाको यथार्थ देख्ने मान्छेले खास वेदना देख्छ र ऊ सबैप्रति सद्भावना राख्छ ।

उनले साधुत्वको पाठ त दिए तर आफ्नो जीवनमा भने उनी त्यसको उल्टो थिए । उनी दर्शनलाई सैद्धान्तिक मात्र मान्थे अर्थात दार्शनीकले भनेको कुरा उसले जीवनमै लागू गर्नु पर्छ भन्ने हुदैन भन्थे, जसरी सून्दर चित्र बनाउने चित्रकार राम्रो हुन जरी छैन !

वेदना-सुख (भाव) : तृष्णाको असर उसको प्रकटीकरण: शरीरमा जहाँ तृष्णा विपरीत हुँदा वेदना र तृष्णानुसार हुँदा सुख ।

राजनीति : राजतन्त्रनै सबभन्दा प्राकृतिक हो र गणतन्त्रराज्य सबभन्दा अप्राकृतिक । गणतन्त्रराज्य आम-मानिस, विज्ञान र कलाको लागि प्रतिकूल छ । उनले कतै, ‘मलाई हजार मुसाले भन्दा एउटा सिंहले शासन गरोस’ पनि भनेका थिए ।

जातीयता : उनी प्राचीन हिन्दु, प्राचीन मिश्र सँगसँगै श्वेतहरूको सबभन्दा उच्च सभ्यता हो भन्छन ।

नारी : नारीहरू करूणाले भरिएका हुन्छन र दूर-दर्शी हुदैनन । समाजको भीडबाट उठ्न सकेभने उनीहरू पुरुष भन्दा प्रगति गर्छन । उनी हिन्दु-धर्मको नारीत्वको प्रशंसा गर्छन र पश्चिमीको विरोध ।   

पागलपना: मानसिक बिरामीको समस्या स्मृतिमा हुन्छ यसर्थमा कि स्मृतिको धागो कतै चुडेको हुन्छ । उसको स्मृतिमा खाल्डाहरू हुन्छन र सही गलत यताउति परेका हुन्छन । बिमारी धेरै माथि पुग्दा भने, स्मृति पुरै बन्दै हुन्छ र बिरामी अतित या नभएको कुरालाई बुझ्न सक्दैन र ऊ केवल त्यस समयको मनगणन्त कुराबाट अतितलाई भरिदिन्छ। यो सब भनेको वेदनाले गर्दा हुन्छ । यो प्रकृतिको ‘जीवन बचाउने’ प्रकृया हो । स्मृतिमा भएका कुराले झनै वेदना हुने हुनाले त्यसमा मनगणन्त कहानी मिसाइन्छ । यसरी बिरामीले अतीत र वर्तमानको कुरा जानेको भएपनि उनीहरूको सम्बन्धमा भने ऊ अलमलिन्छ ।

जन्तु: उनी जीवजन्तुहरू प्रति निकै संवेदनशील भावना राख्छन । उनले आफ्नो  जीवनमा ‘जनावरप्रतिको क्रूरता’ रोक्ने अभियानलाई समर्थन एवं सहयोग गरेको पाइन्छ ।