न्यूरोसायन्स र सुखको भविष्य

Neuroscience and the Future of Happiness

हरेक साधारण* मान्छे सुखी हुन र रहन चाहन्छ । साधारणतय दुखी ऊ, दुखबाट सदा पन्छिन चाहन्छ तर दुखले भने उसलाई हरदम पछाइनैरहन्छ ।  म सुखदुखबाट उपर पुगिसकेँ भन्ने महा-अध्यात्मी पनि खास अर्थमा सुखकै पछि लागिरहेको हुन्छ, भिन्नता केवल यो हो कि ऊ उसको सुख सात्विक, स्थायी र सर्वौच्च होस भन्ने चाहन्छ जसलाई उसले आनन्द, निब्बान, आदि इत्यादि नाम दिन्छ । यसर्थमा हर मान्छेको हर प्रयत्नलाई नदी भन्ने हो भने त्यसको सागर भनेको सुख नै हो – त्यो सुख जुन एक भावनात्मक विषय हो । त्यसो भए सोध्न महत्वपूर्ण हुन्छ: सुख भनेको के हो त ?

समग्रमा नकारात्मक भाव (वेदना इत्यादि) भन्दा सकारात्मक भाव (खुसी इत्यादि) को अधिक उपस्थिति भनेको सुख हो । यो सुख महसुस हुने भनेको अवस्थाको रूपमा हो ।

यसलाई अगाडि बडाउने कार्य भने धेरै परको श्रोतबाट नभईकन उनैबाट दिउँ जो घरकै हुन र जसका कुरा हामी अमृत ठानेर उनले भने विपरीत, सोच्दै नसोचि सेवन गर्ने प्रयत्न गर्छौँ: सिद्धार्थ गौतम !

 

निब्बान भनेको अवधारण गर्न सकिने सबभन्दा उच्च चोटीको सुख हो जहाँ दुख पुरै समाप्त हुन्छ । ( Buddhism-From the Buddha and his Teachings – नारद महाथेरा)   

अझ उनी के पनि भन्छन भने, जति जति एउटा व्यक्ति माथि उठ्दै जान्छ उसको सुखको प्रकारपनि परिवर्तन हुदै, सूक्ष्म हुदै जान्छ यहाँ सम्म कि संसारले त्यसलाई सुख भनेर पनि चिन्दैन । (ऐ.)

धम्मपद सूत्र १७९ मा उनी भन्छन:

भोक सबैभन्दा ठूलो रोग हो, संस्कार सबैभन्दा ठूलो दु:ख हो, यस्तो यथार्थ जसले जान्दछ त्यसले जान्दछ कि निब्बान सबैभन्दा ठूलो सुख हो ।

निब्बान शरीरमै महसुस गर्न सकिन्छ भन्ने तथा अन्य भनाईबाट के बुझाउन खोजिएको हो भने बुद्धको निब्बान पनि ‘सुख’ नै हो ।

यता वेदान्ती धारणाबाट हेर्ने हो भने आधारभूत वेदान्त अनुसार सर्वोच्च ब्रह्मलाई सत्‌-चित्-आनन्द ले बयान गरिन्छ जहाँ आत्मपनि अनन्त आनन्दको अवस्थामा रहेको हुन्छ, त्यो आत्मा जुन शरीर भित्र छ, या भनौँ शरीरमा छ ! यो आनन्दपनि सुखकै विकसीत रुप हो । भन्छन श्रीकृष्ण भागवत गीतमा,

यस्त्वात्मरतिरेव स्यादात्मतृप्तश्च मानव: |
आत्मन्येव च सन्तुष्टस्तस्य कार्यं न विद्यते ||

अर्थात, जो आफैँ भित्र आनन्दित छ, जो आत्मीय आनन्द लिन सक्छ…उसको अरू कर्तव्यनै रहदैन..ऊ भगवान सँगै एक हुन्छ र उसका कार्य भगवानकै कार्य हुन्छ ।

अद्वेत ज्ञानी रमण महर्षी भन्छन् कि,

आत्मा र परमात्मामा केही भिन्नता छैन । भिन्नता केवल अविद्याले गर्दा देखिने हो … अद्वेत आत्मा आफैँ चतना र आफैँ आनन्द हो…त्यो आफ्नो हृदयमा अटल, अचल, अमर, अनन्त, असीम, अ-मन ‘म’ को रूपमा झल्किन्छ । 

इसाई धर्ममा पनि हृदयमा अवस्थित आत्मामा ईश्वरबाट प्राप्त हुने सुखलाई खास सुख भनेर व्याख्या गर्छन ।

यो सबै कुरा गर्नु को तात्पर्य के हो भन्दा, भोगवादी देखि आध्यात्मिक सम्म एउटै कुराको लागि बाँचिरहेको छ: सुख ! त्यो सुख जुन हाम्रो शरीरमा नै रहेको छ ! भिन्नता यो हो कि जहाँ भोगवादी काम-वासनालाई सुख भन्छ त्यहाँ सांसारिक लोभी नाम र सम्मानबाट आउने अहं (मन) तृप्ततालाई ! त्यसैगरी आध्यात्मिक अनन्त, असीम, अ-मन, सर्वौच्च आनन्दलाई सुख भन्छ ।

भागवत गीतमा सात्विक, राजस र तामसी सुख भनेर गरिएको बिभाजन यही हो ।

हामी जो जे भएपनि, जे लाई सुख भने पनि, जे को पछि लाग्दै छौँ: त्यो हामी भित्रै छ भन्ने कुरा पुष्टि गर्नको लागि भनिएका थिए यी । अब भने मूल विषयमा प्रवेश गरौँ :

शरीरमा रहेका स्नायू र तिनका प्रणालीको विज्ञानलाई  न्युरोसायन्स भनिन्छ । स्नायु प्रणाली भन्नाले शरीरको विद्युतीय-रसायन सञ्चार प्रणाली भनेर बुझ्नु पर्दछ । मस्तिष्क र सुषुम्ना (Spinal Cord) मिलेर सेन्ट्रल नर्भस सिस्टम बनेको हुन्छ भने शरीरभरका बाँकीका स्नायू सञ्चारलाई पेरिफेरल नर्भस सिस्टम भनिन्छ । यी प्रणालीका सबभन्दा सूक्ष्म भागलाई न्युरोन भनिन्छ जुन एक कोषिका (Cell) हो । मान्छेका सारा संवेदना, सोच, विचार र भावना यही न्युरोन र स्नायु प्रणालीभित्र छन् भन्ने तर्क वैज्ञानिकहरू प्रस्तुत गर्छन् जुन सम्बन्धी उनीहरूका केही ठोस उपलब्धी र धारणाहरू छन् । मस्तिष्कका विभिन्न क्षेत्रहरूमा केन्द्रित न्युरोन संगठनहरू नै सबै भाव र मोक्षका आधार हुन, अध्यात्मपनि ठाउँठाउँमा सारा श्रेय स्नायुलाई दिन हिचकिचाउँदैन । जस्तो, स्वास्थ्य विज्ञानमा खप्तडजी लेख्छन्,

‘सचेतन प्राणीहरूको चैतन्य संपादनको कारण स्नायुनै हो भन्ने कुरामा कुनै शंका छैन…हामीहरू चल्नु डुल्नु, भोक, प्यास, उठ्नु, बस्नु, काम, क्रोध आदि सबै वृत्ति तथा प्रवृत्ति स्नायुमण्डलको नै काम हो । ‘

तसर्थ त्यो स्नायु नै हो या स्नायु मार्फत नै हो जहाँ सारा सोच विचार, भावना, कार्य, दुखसुख र  ‘म’ रहेको हुन्छ र  त्यो स्नायु र त्यस अन्तर्गतकै प्रणालीले नै हो जसले हामीलाई ‘हामी’ बनाइरहेको हुन्छ ।

सोही पुस्तकमा उनी पनि वेदान्ती झैँ अलौकिक ब्रह्मरंध मस्तिष्कमै रहेको कुरा गर्छन् जुन मस्तिष्क पुरै स्नायुको खेल हो ।

अध्यात्म र शारिरक प्राणलीको सम्बन्धको बारेमा सर्वप्रथम उपनिषद कुरा गर्छ जहाँ प्रश्नोपनिषद शरीरमा भएको हृदयप्रदेशको कुरा गर्छ जहाँ जीवात्मा बस्छ र जसमा १०० मूलभूत नाडीहरू हुन्छन् जसमा प्रत्येक नाडीको एकएक सय शाखा नाडी हुन्छन…बहत्तर करोड नाडीमध्य एउटा नाडी जसलाई ‘सुषुम्णा’ भनिन्छ ।

उपनिषदलाई अगाडि बढाउने कार्य योग गर्छ जहाँ विभिन्न किसिमका शरीरको कुरा गरिन्छ र तीनमा हुने नाडी र वायुहरूको ।  निरविकल्प समाधीको स्थान सहर्ष चक्रलाई स्नायु प्रणालीसँग जोड्ने कार्यहरूपनि गरिएको पाइन्छ । यसर्थमा प्रत्यक्ष स्नायुको अत्याधिक महत्व तन्त्र, योगमा पनि त्यतिकै छ ।

यो सबैकुराबाट के निचोड निकाल्न सकिन्छ भने यस्तो प्रभावशाली स्नायु प्रणाली (जसले हामीले सुरुवातमा गरेको विभिन्न प्रकारका सुखसँग सम्बन्ध राख्छ), यस भित्र या यसैमार्फत मनुष्यको भोगविलासी कामना देखि लिएर सर्वोच्च आनन्द रहेको छ । हाम्रा सारा जीवन-उद्धेश्य यसर्थमा शरीरभित्र र स्नायुभित्र रहेको छ भन्ने कुरा निर्धक्कसँग भन्न सकिन्छ । त्यसैले खुसी हुन चाहने या ज्ञान चाहनेले स्नायु विज्ञानलाई लापरवाही नगर्दा राम्रो हुन्छ ।

आध्यात्मिकहरू विज्ञानलाई कछुवे, एकतर्फी र संकुचित प्रणाली भनेर अपहेलना गर्न रुचाउँछन् तर म यहाँ के भन्न चाहन्छु भने ढिलोचाँडो, विभिन्न कारणले गर्दा  आध्यात्मिकहरूले यो विज्ञानलाई स्वीकार्न थाल्नै पर्छ । बेवास्ता गर्नु भन्दा मिलेर अगाडि बढेमा सत्य अझै प्रत्यक्ष र सहज हुने थियो र सबैको हीत हुने थियो भन्ने कुरामा कुनै शंका छैन । टप-बटम/रिडक्सनिजम, इमर्जेन्सको चक्करमा हराइरहेको न्युरोसायन्सलाई पनि स्वतन्त्र दार्शनीक बुद्धिले केही मदत पुग्छ नै !

आज न्युरोसायन्स सामान्य विज्ञान झैँ आफ्नै लहडमा हिँडिरहेको छ । उसलाई रोक्ने कोही पनि छैन । रोकोस् पनि कसले ! र किन ! ऊ भौतिकशास्त्रलाई पछारेर चाँडैनै विज्ञानको रानी बन्नेछ भन्ने कुरा पनि निश्चित छ : मानव गन्तव्यको विज्ञान न परी ! एन्टोनीय डामासियो जस्ता वैज्ञानिक न्युरोसायन्सकै बलबुतामा पाश्चात्य दर्शनको शिखर डेकार्ट्सको मन-शरीर प्रब्लमलाई खण्डन गर्छन् र समाधान दिन्छन । समग्रमा न्युरोसायन्सपनि विश्वस्त छ: जे छ त्यो शरीरकै स्नायुमा छ !

हामीले सुरुवात देखि जुन भावनाका कुरा गर्यौँ त्यसमा सुखको विपतीतार्थक शब्द दुखको व्यावहारिक रोगरूपलाई डिप्रेसन भनिन्छ ।  माथि उल्लेखित डामासियो पार्किन्सन रोगको उपचार गरिएकी आफ्नी एक स्वास्थ विरामीको मेसेन्सेफेलोन (मध्य मस्तिष्क) मा  विद्युतीय प्रवाह दिन्छन र तत्काल उनी डिप्रेसनमा जान्छिन । अझ के हुन्छ भने, उनी आफ्नो बारेमा र जीवनको बारेमा निकै नकारात्मक भाषापनि बोल्छिन जुन सबै प्रवाह दिन छाडेपश्चात साधारण हुन्छ ।

त्यसैगरी न्युरोसायन्सले भावनामा महत्व राख्ने मस्तिष्कका विभिन्न भागहरूपनि छुट्याउन थालेको छ जसमध्य Brain Stem, Cingulate Cortex र Prefrontal Cortex भावना उत्पत्ति तथा चेतनाका क्षेत्र भनी छुट्याउँछ । Brain Stem मा क्षती भएमा सम्पुर्ण चेतनानै गुम्छ पनि भन्छ न्युरोसायन्स ।

एउटा न्युरोनले अर्को न्युरोनसँग सम्बन्ध राख्दा त्यो सम्बन्ध रसायनीक हुन्छ भने अन्तर न्युरोन सम्बन्ध विद्युतीय हुन्छ । त्यस्ता रसायनलाई Neurotransmitters भनिन्छ । यस्ता Neurotransmitters नै चेतनशील भावना उत्पादनमा महत्वपूर्ण छन् भनिन्छ । उदाहरणको रूपमा दुखाई पनि कम गर्ने रसायनलाई आनन्दमाइड नाम दिइएको छ भने लतको कारक रसायन डोपामिन भनेर स्थापित गरिएको छ । यता व्यापक प्रयोगमा रहनेगरेका पेनकिलर औषधीहरूको पनि भूमिका विवादास्पत छ तर ती औषधीहरूले गर्ने भनेको खुसी दिने नभइ, दुखको सिग्नल रोक्ने हो: स्नायु प्रवाहसँग खेल्ने हो । त्यस्तै अन्य मदिरा, लागूपदार्थहरूपनि मेथडिकल सटिक उपायहरू होइनन तिनीहरू अनुभूति बाट निर्माण गरिएका हुन ।

क्रमिक प्रकृयाबाट उत्पन्न भएको हाम्रो भाव प्रणालीमा चेतना पछिल्लो विकासको रूपमा आएको हो भन्ने कुरा पनि छ । अचेत भावहरू चेत भाव भन्दा प्रभावशाली हुन्छन भन्ने कुराले नयाँ आयामहरूपनि थपिदिइरहेको छ जसअन्तर्गत हामी खासर्थमा चेतनामूलक भन्दा अचेत कार्यनै गरिरहेका छौँ भनिन्छ । म्यास्सी (२००२) भन्छन:

‘….के हुन्छ भने अचेत भावनात्मक सोचहरूले हाम्रा सचेत बुद्धिका कार्यलाई रुप दिइरहेका हुन्छन् । हाम्रा सचेत बुद्धिलाई अचेत भावनाले डोर्याइरहेका हुन्छन्…हाम्रो जीवनमा हाम्रो बुद्धीको  योगदान हामीले सोचेको भन्दा थोरै हुन सक्छ’

त्यो अचेत श्रोत के हो भन्ने हालसम्म थाहा पाएको छैन न्युरोसायन्सले ।  त्यसैले यो अचेत कारण भन्ने निचोड छिटो निलाकिएको निष्कर्ष हो भनेर भन्न सकिन्छ । भोलिको दिन त्यो अचेत कारण पत्ता लगाउला न-लगाउला तर पनि हामी मानिस आज सम्म जे-जसलाई सुख भन्दैछौँ त्यसको लागि चेत भावमा हेरफेर काफी छ ।

न्युरोसायन्सको विधिमा आजकल व्यापक प्रयोग हुँदै छन् । मूलत: Functional Neuroimaging, Lesion Studies र Intracranial Electrophysiology, Neurotransmitters manipulation इत्यादि का विधि अप्नाई रहेको यो विज्ञानमा विभिन्न विधिका आफ्नै सकारात्मक-नकारात्मक पक्षहरू छन जसलाई जोडेर मिलाउने कार्य गरिदैछ । ती मध्य कुनै खतरनाक छन् कुनै असर नगर्ने ! मानिसमा भने यस विज्ञानले त्यति चित्त प्रयोगहरू गर्न सकेको छैन । धेरै प्रयोग जीवहरूमा गरिदै आएको छ, त्यस्ता जीव जो सँग मानिसजतिको बौद्धिक क्षमता हुँदैन ! तर कम्प्युटर प्रविधिको प्रयोगबाट धेरै आयामहरू भने थपिदैछन् ।

प्रख्यात घटना अन्तर्गत सन् १९५३ मा ख्याती प्राप्त बेलायती साहित्यकार एल्डुवस हक्स्लीले मेस्कालिन नामको रसायनको प्रयोगदौरान – वेदिक सत्-चित-आनन्द, च्यान बौद्ध अन्तर्गतको जेनको एक कोवानको अर्थ लगाएँ भनेका थिए जुन सबलाई उनले पछि मोक्ष होइन भने । उनका  त्यसबेलाका गुरु स्वामी प्रभाभनन्दले मेस्कालिनलाई मोक्षसम्मको  अवैध मार्ग पनि भनेका थिए भनिन्छ । त्यही मेस्कालिनले सेरोटोनि नामक Neurotransmitter लाई सुचारु गर्छ पनि भन्छन् वैज्ञानिकहरू । तर मेस्कालिनबाट नराम्रो भएका थुप्रै उदाहरण बढी छन ।

यस्ता थुप्रै उदाहरणहरू झन जहाँ हामीले भन्ने ‘सुख’ लाई विद्युतीय र रसायनिक माध्यमबाट हासिल गरिन्छ ।

जसले जति अवैध भनेपनि एंक्जायटी, डिप्रेसन, अल्जाइमर्स, इपिलेप्सी जस्ता मानसिक बिमारीहरूलाई घातक रोगकै श्रेणीमा राखिसकिएको छ र यिनको समयमै उपचार पनि निकै जरूरी छ । यिनको निवारणको लागि उपयुक्त माध्यमलाई विरोध गर्न मिल्दैन ! यसैपनि त योग-ध्यान मार्फत कहाँ सबैले आनन्द त परेजाओस् दुख हटाउन पनि सक्छन र !

न्युरोसायन्सको अर्को अध्ययनले अनियन्त्रीत सोच विचार र मनोरोगको सम्बन्धको कुरा गर्छ छ जुन अध्ययन अन्तर्गत स्मृति, सपना र अनियन्त्रित सोच एउटै क्षेत्र: Medial Temporal Lobe बाट उत्पन्त हुन्छन ।

यसरी, माथि बताइएको डिप्रेसन प्रयोग र भावहरूको निश्चित क्षेत्रको विषेश ज्ञान मार्फत मानसिक रोग मात्र होइन मानसिक कमजोरीको नै समाधान सबको घर दैलोमा आइपुग्छ भने त्यसको अर्थ हुन्छ: बौद्धिक रूपले सबै उत्तिकै क्षमतावान र अधिक बुद्धिमान हुन्छन  !

यो सँग सँगै यो hypothesis पनि दिन सकिन्छ कि:

मान्छेले आज सम्म जे जति जानेको छ (ईश्वर सम्बन्धी खासगरी ) त्यो सबै अटकल र अनुमान हो । मानिसको ईश्वर  सम्बन्धी असली बुझाईको यात्रा त्यो बेला मात्र प्रारम्भ हुन्छ जब मानिसले आफ्नो मस्तिष्क र स्नायुलाई पूरै सतप्रतिशत नियन्त्रणमा राख्न सक्दछ ।

समग्रमा भन्नु पर्दा, जे छ शरीरमै छ र शरीरविज्ञानद्वारा हर सत्य कालान्तरमा थाहा भईनै हाल्छ । यस्तोमा न्युरोसायन्सलाई कछुवे चाल भनेर बेवास्ता गर्ने होइन कि सत्यलाई आफ्नै आखाँ अगाडी ल्याउनको लागि मदतशाली शास्त्र भनेर अध्यात्मले पनि साथ दिन जरूरी हुन्छ ।

एक टुक्रा औषधीकै भरमा अथवा मस्तिष्कमा हानिएको एक इलेक्ट्रोडको गोलीको भरमा रोग मात्र नभई सारा नचाइदा सोच-विचार, भावना हराउँछ, निद्रा राम्रो पर्छ, रचनाक्षमता बढ्छ, हरेक कार्य गर्न क्षमतावृद्धि हुन्छ, बलियो भइन्छ र सुखी (कालान्तरमा विभिन्न तहको) भइन्छ भने मान्छेले त्यो स्वीकारिनै हाल्छ । यस्तोमा ठिक/बेठिक भन्ने कुरा छैन । तर यसका नकारत्मक असर भने हुन्छन त्यसमाथि  भोलिको दिनमा प्रविधि र स्वास्थ्यको नाममा गलत प्रयोगहरू पनि हुनेनैछन : अवसरवादीद्वारा, व्यापारीद्वारा, सरकारद्वारा ! यस्तोमा  सुखको विज्ञान – न्युरोसायन्स सम्बन्धी सबैको  ज्ञान हुनुपर्ने मात्र होइन यो विधालाई मदत गर्न पनि जरूरी छ । तर सबभन्दा जरूरी छ – यसलाई नियन्त्रणमा राख्न !

किनभने यसमार्फत हाम्रो सुख त निश्चित होला तर स्वतन्त्रताको बारे चाहीँ भन्न सकिदैन !

*साधारण यस अर्थमा कि मनोरोगी Serial Killers हरूले आफूले हत्या गर्दा भावको उपस्थिति नभएको उल्लेख गरेको पाइएको छ ।

(Adesh Acharya is a young Philosopher and Poet)